सुर्खेत । प्रतिनिधि सभाबाट अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित भएको बिरोधमा जारी आन्दोलन उग्र बनेको छ ।
बन्द सफल पार्न भन्दै गरिएको आन्दोलनको कारण सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको हो ।
तेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको (देशभक्त जनगणतान्त्रिक मोर्चा), ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतले गरेकाे बन्दका क्रममा कर्णालीकाे राजधानी समेत रहेकाे वीरेन्द्रनगर तनावग्रस्त बनेकाे हाे ।
आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले सोमबार राति सवा ८ बजेदेखि भोलि साँझ ७ बजे सम्मको लागि कर्फ्यु आदेश जारी गरेको छ ।
यसअघि बन्दकर्ताहरुले सुर्खेतमा विभिन्न पार्टीका कार्यालयहरुमा तोडफोड र आगजनी गरेका छन् ।
उनीहरूले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा तोडफोड गरेका छन् भने, नेकपा (एमाले) को कार्यालयमा आगजनी गरेका छन् ।
वीरेन्द्रनगरकाे मंगलगढी चाेकमा बन्दकर्ता र प्रहरी बिच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्याँस हानेकाे छ । तर विभिन्न गल्लीबाट निस्केका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
खबर बजार । १६ फाल्गुन २०७८, सोमबार २०:३२