भूकम्प प्रभावित क्षेत्रमा देखिने गरी काम गर्न एमाले कर्णालीको माग

सुर्खेत । नेकपा एमाले कर्णालीले भूकम्पका कारण क्षति बेहोरेको जाजरकोट र रुकुम पश्चिममा देखिने गरी सरकारको भुमिका निर्बाह गर्न माग गरेको छ । गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पका कारण क्षति बेहोरेका पीडितहरुले अहिलेसम्म पनि प्रभवकारी ढंगले राहत, पुनस्थापना र क्षतिपूर्ति नपाएको एमालेले जनाएको छ ।

यहि माघ १२ गते बसेको एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले गरेको निर्णय सार्वजनिक गर्देै जनताको आकांक्षा अनुसार बिकास नहुदाँ आम जनतामा निराशा छाएको एमालेले जिकिर गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको गलत कामकारवाहीका कारण जनप्रतिनिधि र व्यबस्थाप्रति नै जनताले प्रश्न उठाउने स्थिति पैदा भएको बताउनु भएको छ ।

‘वास्तवमा यस्तो परिस्थितिको निर्माण हुनु आफैमा दुखद छ र अझैपनि सरकारको नेतृत्व सुधार गर्नेभन्दा थप गलत कार्यहरुलाई प्रश्रय दिनमा बढी अग्रसर देखिन्छ’, आइतबार पत्रकार सम्मेलन गर्दै नेता कँडेलले भनेका छन्, ‘योजना निर्माणमा अपारदर्शिता व्याप्त छ, भ्रष्टाचार, कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा सरकार उद्दत छ ।’ एमालेले कर्णाली सरकारको विगत एक वर्षको अवधीमा कार्य प्रगति न्यून, निराशाजनक छ र बेरुजु उच्च रहेको जनाएको छ ।

एमालेले सदनमा प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई नीतिगत सुधार, कर्णालीको समृद्दी, सुशासन र पारदर्शिताका विषयमा पटकपटक घच्घच्याउने काम गरिरहेपनि नसुनेको जनाएको छ ।

गठबन्धन सरकार जनता र प्रदेशप्रति अनुत्तरदायी भएको तथा आम जनताका आकांक्षालाई बुझ्न नसक्नुका साथै सरकार असफलतातर्फ अघि बढेको एमालेको ठहर गरेको छ ।

एमालेले भूकम्पका कारण क्षति बेहोरेको जाजरकोट र रुकुम पश्चिममा देखिने गरी सरकारको भुमिका निर्बाह गर्न, असार १७ को सर्बदलिय सहमति र मुख्यमत्रीले ब्यक्त गरेका प्रतिबद्धताहरु तत्काल कार्यन्वयन गर्न र कर्णाली प्रदेशसभाको अधिवेशन तत्काल आब्हान गर्न माग गरेको छ ।