
सुर्खेत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ ।

कर्णालीको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आजदेखि फागुन २६ भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न पाउने जानकारी दिएको छ ।
अद्यावधिक कार्यक्रमअन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाउनेछन् ।
आयोगले मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने कार्यक्रम उक्त समयभित्र सञ्चालन गर्नेछन् ।
कार्यालयले सबै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको बताएको छ । आयोगले उक्त कार्यका लागि प्रमुख दर्ता अधिकारी तोकिसकेको छ ।
आयोगले फागुन २६ गतेभित्र परेको उजुरीबारे अनुसन्धान तथा छानबिन गरी सम्बन्धित मतदातालाई प्रमाणसहित उपस्थित हुने सूचना प्रकाशन गर्नेछ ।
मतदाता नामावली नियमावलीमा दर्ता अधिकारीले छानबिनपछि त्यस्तो उजुरीमाथि कारबाहीस्वरूप मतदाता नामावलीबाट नाम हटाउनसक्ने अधिकार दिएको छ ।

खबर बजार । २० फाल्गुन २०७८, शुक्रबार १५:१७