राप्रपाले सुर्खेतमा आमसभा गर्दै, अध्यक्ष लिङ्देनसहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतमा यही फागुन २८ गते आमसभा गर्ने भएको छ । राष्ट्रिय राजनीतिक विषयवस्तुसँगै पार्टीका पूर्वअध्यक्ष कमल थापा लगायतले पुनः राप्रपा नेपाल ब्युँझाएपछि सही सूचनाको सम्प्रेषण गर्न भन्दै आमसभा गर्न थालिएको हो ।

वीरेन्द्रनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा सुर्खेतका अध्यक्ष कबिराम पुरीले आमसभामा राप्रपाका अध्यक्षसहित पूर्वअध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी, उपाध्यक्षद्वय मुकुन्दश्याम गिरी र विक्रम पाण्डे, महामन्त्री डाक्टर धवल शम्मेर राणा र कुन्ति शाही तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरु आउने बताउनुभयो ।

उहाँले वर्तमान अवस्थामा मुलुकको आर्थिक, राजनीतिक असुरक्षा र बाह्य हस्तक्षेपका कारण गम्भीर संकटमा परेकोले पार्टीको अभियानलाई तिब्रता दिइएको बताउनुभएको छ ।

राज्यले संस्थागत सेटिङ्ग गरेर भ्रष्टाचारमा व्यापाकता भएको, राष्ट्रिय स्वाधिनता माथि नै बादल मडारिएको बताउँदै पुरीले २०४६ सालदेखि हालसम्म राजनीतिक तथा प्रशासनिक रुपमा उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न आयोगको गठन गर्नुपर्ने, सांसदले मन्त्री हुन नपाउने, संघीयताको खारेजी, पूर्ण समानुपातिक सांसद र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने व्यवस्थाका साथै कुनैपनि राजनीतिक दलको सदस्यता नलिएको आम नेपाली जनताको जनभावना बमोजिम चल्ने अभिभावकको रुपमा शान्ति र स्थायित्वको आधारस्तम्भको रुपमा राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राप्रपाका एजेण्डाहरु भएको पुरीको भनाई छ।

यसैगरी नाटकीय ढंगबाट पास गरिएको एमसिसि असंलग्न परराष्ट्रनीति अनुरुप नभएकाले विदेशी सहायतालाई स्वीकार गर्ने नाममा वर्तमान सरकार परराष्ट्र मामलामा अपरिपक्व रहेको पुरीले बताउनुभयो । पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी, जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।