सुर्खेत । कर्णाली प्रदेशमा आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । १० जिल्लाका ७९ वटै स्थानीय तहमा रहेका मतदान केन्द्र तथा मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटिएको निर्वाचन कार्यालयले जनाएको छ ।
१० लाख एक हजार दुई सय ८२ मतदाता रहेको कर्णालीमा नौसय सात मतदानस्थलमा र एक हजार तीनसय ८५ मतदान केन्द्र छन् । यीमध्ये दुईसय ९८ मतदानस्थल अति संवेदनशील रहेका छन् । चारसय ११ संवेदनशील र एकसय ९८ सामान्य रहेको कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।
प्रदेश राजधानी सुर्खेतमा एकसय ३८ मतदानस्थल र दुई सय ९१ मतदान केन्द्र रहेका छन्। जसमा अति संवेदनशील २०, संवेदनशील ८५ र सामान्य ३३वटा रहेका छन् । यस्तै, दैलेखमा एकसय ३६, मतदानस्थल र दुई सय सात मतदान केन्द्र तोकिएको छ । दलैखमा अति संवेदनशील ४६, संवेदनशील ५५ र सामान्य ३५ मतदानस्थल रहेका छन् ।
एकसय ४२ मतदान केन्द्र रहेको जाजरकोटमा ८५वटा मतदानस्थल कायम गरिएकोमा सुरक्षाका दृष्टिकोणले एक मतदानस्थल अति संवेदनशील तोकिएको छ । यस्तै, ५४ संवेदनशील र ३० वटा मतदानस्थल सामान्य छन् । दुई सय एक मतदान केन्द्र र एकसय १४ मतदानस्थल रहेको सल्यानमा ४१ वटा अति संवेदनशील मतदानस्थलको रूपमा परेका छन् भने, ५७ संवेदनशील र १६वटा सामान्यमा परेका छन् ।
यस्तै, रुकुमपश्चिममा १९वटा मतदानस्थल अति संवेदनशील पर्दा ४५वटा सामान्य र १२ छन् । रुकुमपश्चिमा ७६वटा मतदानस्थल र एकसय ३९ मतदान केन्द्र रेहका छन् । हिमाली जिल्ला डोल्पामा ६६ मतदानस्थल तोकिदा जम्मा मतदान केन्द्र पनि ६६ नै रहेका छन् । डोल्पामा २३ अति संवेदनशील, २६ संवेदनशील र १७ सामान्यमा केन्द्रका रूपमा परेका छन् ।
यस्तै, जुम्लामा ७९ मतदानस्थल तोकिदा एकसय दुई मतदान केन्द्र कायम भएका छन् । जसमा अति संवेदनशील ४०, संवेदनशील १४ र सामान्यमा २५ मतदानस्थल तोकिएका छन् । मुगुमा २६ अति संवेदनशील तोकिँदा ८५ संवेदनशील र ३३ वटा सामान्यमा परेका छन् । मुगुमा जम्मा ६१ मतदानस्थल र ६४ मतदान केन्द्र तोकिएका छन् ।
यस्तै, अर्को हिमाली जिल्ला हुम्लामा नौवटा मतदानस्थल अति संवेदनशील क्षेत्रमा परेका छन्, भने ३० संवेदशिल र १३वटा सामान्य छन् । हुम्लामा ५२वटा मतदानस्थल जम्मा मतदान केन्द्र ५४वटा रहेका छन् ।
सुरक्षाका दृष्टिकोणले प्रदेशमा सबैभन्दा बढी अति संवेदनशील मतदानस्थलहरू कालिकोटमा रहेका छन् । एकसय मतदानस्थल र एकसय १९वटा मतदान केन्द्र रहेको कालिकोटमा ७३ मतदानस्थलहरू अति संवेदनशील क्षेत्रमा परेका छन् ।
यस्तै, संवेदनशील २६ र सामान्य एक मतदानस्थल रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । मतदानस्थलहरूमा हुनसक्ने सम्भावित घटना रोक्न सुरक्षाका चारवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मतदानस्थलमा चारवटा सुरक्षा रेखा बनाई सुरक्षा दिइनेछ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा म्यादी प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी खटिनेछन् भने, चौथो घेरामा नेपाली सेना तैनाथ हुनेछ ।
कर्णालीका जिल्लाहरूमा जिल्ला निर्वाचन सुरक्षा समितिले विगतका निर्वाचनमा भएका हिंसात्मक क्रियाकलाप, भौगोलिक अवस्था, दलीय प्रतिस्पर्धा लगायतलाई आधार मानेर सुरक्षा रणनीति तय गरेर सुरक्षाकर्मी खटाएको छ ।
खबर बजार । २९ बैशाख २०७९, बिहीबार १८:०७