
सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्षको कुल बजेट मध्य ८० प्रतिशत बजेट क्रमागत तथा अधुरा योजना सम्पन्न गर्न विनियोजन गरिएको बताउनुभएको छ ।
उहाँले आर्थिक वर्ष २०७९र८० मा धेरै नयाँ योजना ल्याउने भन्दा पनि क्रमागत र पुराना योजनाहरु सम्पन्न गर्ने वर्षको रुपमा लिएको बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । बिहीबार बजेटका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा योजना मन्त्री विष्टले परिणाम दिने गरी बजेट ल्याएको दावी गर्नुभयो । उहाँले यस पटक हामीले कर्णालीको समृद्धी र विकासका लागि परिणम दिने गरी बजेट ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार यर्थातपरक र परिणममुखी बजेट ल्याएकाले जनतामा आसा जगाउने छ । उहाँले साउनको पहिलो, दोस्रो हप्तादेखि नै बजेट कार्यान्वयनमा जाने र समयमै बजेट खर्च हुने बताउनुभयो ।

खबर बजार । २ असार २०७९, बिहीबार १९:५१