भदौ पहिलो सातासम्म सिट बाँडफाँट टुंग्याउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं, २० साउन । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् ।
आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै निर्वाचन लड्ने समझदारी भएको एक नेताले बताउनुभयो ।
त्यस्तै, भदौको पहिलो हप्तासम्म सिट बाँडफाँटको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँटको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ ।
सरकारले बिहीबार मात्रै आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको थियो ।
प्रतिनिधि सभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।
यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका एक नेता बताउँछन ।
अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने भएका छन् ।