प्रधानमन्त्री देउवासँग बाबुराम र महिन्द्र रायको छलफल जारी

काठमाडौं : जनता समाजवादी पार्टी छाडेर हालै नयाँ पार्टी खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

मंसिर ४ गते सरकारले संघ र प्रदेशको निर्वाचनको मिति तोकेसँगै नेपाल समाजवादी पार्टी खोलेका भट्टराई र यादव बालुवाटार पुगेका हुन्।

बेलुकी ५ बजेदेखि देउवासँग अध्यक्षद्वय भट्टराई र यादवले गठबन्धनमा अटाउने र नअटाउने विषयमा छलफल गरिरहेको नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम र चुनावी तालमेललगायतका विषयमा छलफल भइरहेको उनले बताए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पत्तासाफ गर्न प्रधानमन्त्री देउवाले ५ दलीय सत्तारुढ गठबन्धनभित्र अन्य दललाई पनि समावेश गर्ने ग्रीन सिग्नल दिएका छन्।

महन्थ ठाकुरसहितका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु पनि प्रधानमन्त्री देउवासँग छलफल गरिरहेका छन्।