

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनको सरकारले संसद्लाई पंगु बनाएको आरोप लगाउनु भएको छ ।
राजनीति र युवा महिला विषयक अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत व्यक्तिको हातमा नेतृत्व पुगेकाले देश भद्रगोल बनेको बताउनु भएको हो ।
‘अबको चुनावमा गलत निर्णय लिन पुग्यौँ भने देश बर्बादीतर्फ जान्छ । कुनै लोभ र प्रभावमा नफसौँ। गलत सूचना र जानकारीबाट टाढा रहौँ। गठबन्धन सरकारको एक वर्षमा सबै देख्नु र भोगिसक्यौँ। अर्थतन्त्र ओरालो लागेको छ। राजनीति भद्रगोल छ। संसद् पंगु भएको छ’‚ उहाँले भन्नुभयो, ‘संसद्जस्तो छैन। सरकार सरकारजस्तै छ। अदालत अदालत जस्तो छैन। प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर छाडिएको छ।’
अदालतमा बहस गर्नुपर्ने वकिलहरू कम्फु कराँते खेल्नतिर लागेको टिप्पणी गर्नुभयो। आफू नेतृत्वको सरकारले सत्य र विकासको पक्षमा काम र राजनीति गर्ने बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई संकेत गर्दै छोरी र श्रीमतीलाई अगाडि ल्याउन राजनीति गरेको पनि आरोप लगाउनु भयो ।

खबर बजार । ३१ श्रावण २०७९, मंगलवार १७:१२