नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची

काठमाडौं । संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ ।

राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु भएको थियो । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाउनु भएको थियो।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा नेकपा एमालेले नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेका थिए । यसबारे विषयगत समितिमा पनि छलफल गर्नुपर्ने माग गरेका थिए ।

तर संसद सचिवालयले आजै विधेयक पारित गर्ने विषय कार्यसूचीमा चढाएको छ ।