संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक अधिकार नदिएर केन्द्रसँग नै निहित गरेको छ: मुख्यमन्त्री शाही

सुर्खेत । शाहीले सहिदको सपना पूराका लागि संघीय व्यवस्था आवश्यक रहेको बताएका छन्। प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पुरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन्।


शनिबार प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले अहिले संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक अधिकार नदिएर केन्द्रसँग नै निहित गरेको बताएका छन्।

उनले भने, ‘प्रदेश सरकारले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने शहीदको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गरिएको छ। साथै शहीद परिवारका सन्ततिका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं।’

मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षदेखि शहीद परिवार भत्ताको व्यवस्था प्रदेश सरकारले गरेको बताए। कर्णाली प्रदेश स्थापनको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए।

दशकौंदेखि संघीय शासन व्यवस्थाका कारण पछाडि पारिएको कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै ठूलो आन्दोलन भएको थियो। हालको कर्णाली र सुदुरपश्चिम प्रदेशलाई एउटै बनाउने गरि भएको निर्णयको विरोधमा कर्णालीले गरेको आन्दोलनको फलस्वरुप नै अहिले कर्णाली प्रदेश प्राप्त भएको थियो।