कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई गुण तिर्दै सरकार

काठमाडौं । सरकारले कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई अवकाशपछि पूर्वप्रधानन्यायाधीशलाई सरह सुविधा दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद बैठकले ६ महिनाभन्दा बढी अवधि कामू प्रधानन्यायाधीश भएका न्यायाधीशलाई गाडी र सवारीचालकको सुविधा दिने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्तावका कारण उनी निलम्बनमा परेपछि कार्की कामू प्रधानन्यायाधीश हुनु भएको थियो । उहांले ६५ वर्षको उमेर हदका कारण १६ असोजमा अवकाश पाउँनु हुदैछ । उहांको अवकाशअघि बसेको मन्त्रिपरिषद बैठकले ६ महिना कामु प्रधानन्यायाधीश भइसकेका न्यायाधीशलाई गाडी र सवारीचालक सुविधा दिने निर्णय गरेको हो ।

‘यो निर्णय कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई मध्यनजर गरी भएको देखिन्छ’, सर्वोच्च अदालत स्रोतले भन्यो, ‘नभए ६ महिना कामू प्रधानन्यायधीश भएको भनी मापदण्ड बनाउनुपर्ने थिएन । यो वाक्यांशले उहाँलाई बाहेक कसैलाई लाभ दिँदैन ।’

यसअघि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी पनि कामु प्रधानन्यायाधीश हुनुभएको थियो । उहांलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा पनि सिफारिस गर्‍यो, तर संसदीय सुनुवाइमा अस्वीकृत भएको उहांले न्यायाधीश पदबाटै राजीनामा दिनुभयो ।

उहांले पूर्वन्यायाधीशले पाउने पेन्सनबाहेक अरु सुविधा पाउनु भएको छैन ।

सरकारको पछिल्लो निर्णयबाट पनि जोशीले थप सुविधा पाउनुहुने छैन । तर १६ असोजमा अवकाश पाउँदा कामू प्रधानन्यााधीश कार्कीले भने गाडी सुविधा पाउनु हुने भएको छ । सवारीचालक पनि सर्वोच्च अदालतले नै व्यवस्था गर्नेछ ।

पूर्व प्रधानन्यायाधीशले गाडी, केही सुरक्षाकर्मी र सहयोगी कर्मचारी सुविधा लिने गरेका छन् । सुरक्षाकर्मी र सहयोगी भने निश्चित अवधिपछि फिर्ता गर्नुपर्छ ।