सबैभन्दा ठूलो दललाई नै दुइ सीट मात्र भाग !

कैलाली । नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी सनाखतपछि सुदूर पश्चिम प्रदेशको सबैभन्दा ठूलो दल बनेको थियो । १४ जना प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादीले अहिले सुदूरपश्चिमका ३२ वटा प्रदेशसभा क्षेत्रमध्ये गठबन्धनमा २ वटामात्रै पाएको छ ।

सबैभन्दा ठूला दल हुँदा पनि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन सकेन । नेकपा एकीकृत समाजवादील गठबन्धन गरेर निर्वाचनमा होमिँदा पनि २ पालिका प्रमुखमात्रै जितेको थियो । एकीकृत समाजवादीले अहिलेको प्रदेशसभामा कैलाली क्षेत्र नम्बर ४ (ख) र कैलाली क्षेत्र नम्बर ३ (ख) मात्रै पाएको छ ।

सत्ता गठबन्धनका दलहरूबीच असोज २२ गते भएको सहमतिअनुसार कैलाली ४ (ख) एकीकृत समाजवादीको भागमा परेको थियो । त्यहाँबाट संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी उम्मेदवार बन्नु भएको छ ।

त्यस्तै कैलाली क्षेत्र नम्बर ३ (ख) मा निवर्तमान अर्थ राज्यमन्त्री अमर साउदले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसबाहेक केन्द्रकै सहमतिमा एकीकृत समाजवादीलाई एकल भाग नपर्दा समस्या भएको छ । ३ क्षेत्रमा एकीकृत समाजवादी र कांग्रेस तथा १ क्षेत्रमा एकीकृत समाजवादी र माओवादीको संयुक्त दाबी रहेको थियो । अहिलेसम्म ती क्षेत्र कांग्रेस र माओवादी केन्द्रले नछोडेपछि सुदूरपश्चिममा एकीकृत समाजवादी प्रदेशतर्फ २ क्षेत्रमै सीमित हुने भएको छ ।

बाजुराको प्रदेश (ख), अछामको २ (ख) र कञ्चनपुर २ (ख) मा कांग्रेसले दाबी नछोडेपछि गठबन्धनबाट छुट्टिएर गठबन्धनविरुद्ध नै एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गरेको छ । त्यस्तै कञ्चनपुर ३ (क) मा पनि माओवादीले दाबी नछोडेपछि एकीकृत समाजवादीले उम्मेदवार खडा गरेको छ ।

तेस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा पनि गठबन्धनविरुद्ध एकीकृत समाजवादी मैदानमा उत्रिएको छ ।