स्याङ्जा । कांग्रेसले बुथ कब्जा गरेको भनेर एमालेले पुन: मतदान माग गरेका स्याङ्जा २ को चापाकोट नगरपालिकाका वडा नम्बर ३,४ र ५ को मतगणना शुरु भएको छ ।
बुथ कब्जा भएको भनिएको चापाकोट ३ को मतगणना सकिँदा कांग्रेसका धनराज गुरुङले १४२६ मत पाउँदा एमालेकी पद्मा अर्यालको १०३ मत आएको छ । यहाँ मतदान शुरु भएको एक घण्टापछि कांग्रेसका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर एकलौटी मतदान गरेको आरोप छ ।
प्रदेशतर्फ पनि सो वडाबाट कांग्रेसका महेश भट्टराई धनराजकै जति १४२६ मत पाउनु भएको छ भने एमालेका बुद्धिमान श्रेष्ठको १०३ मत छ । प्राय: एउटै दलका पनि प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको मत तलमाथि आउने गर्छ ।
तर यो वडाबाट भने दुवै दलका दुवै उम्मेदवारको मत बराबरी आएको छ । चापाकोट ४ र ५ मा पनि बुथ कब्जा भएको भन्दै एमालेले पुन: मतदान माग गरेको थियो । तर निर्वाचन आयोगले मान्यता दिएपछि गणना भइरहेको छ ।
चापाकोट ३ गनिसक्दा धनराज २५ हजार ६५१ मतका साथ अगाडि हनुहुन्छ भने पद्मा अर्याल २२ हजार २१३ मतका साथ पछ्याइरहनु भएको छ । अब चापाकोट ४ गणना शुरु भएको छ ।
खबर बजार । १७ मंसिर २०७९, शनिबार १३:०२