

१८ मङ्सिर, काठमाण्डौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको सहकार्य सकिएको बताउनु भएको छ । ४ मंसिरको चुनावका एमालेसँग जसपाले केही सिटमा तालमेल गरेको थियो ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताउनु भएको हो । उहांले भन्नु भयो ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ ।’
यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताउनु भएको छ । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवले बताउनु भयो ।
४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित हुनु भएको थियो ।

खबर बजार । १८ मंसिर २०७९, आईतवार १८:०९