आचारसंहिता उल्लघंन कसुरमा थप नौ उम्मेदवारसँग स्पष्टीकरण माग 

अटेर गर्ने बालेनलाई दोस्रो पटक पनि सोधियो

काठमाण्डौ – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । अस्ति शनिवारसम्म २१ वटा स्पष्टीकरण सोधेको आयोगले थप नौ वटा स्पष्टीकरण माग गरेको हो ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट झापाको निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

साहको चुनाव प्रचारप्रसारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनी आयोगले स्पष्टीकरण सोधेको हो ।

पहिलो पटक सोधेकोमा साहले अटेर गरेर स्पष्टीकरण नदिएका कारण दोस्रो पटक पनि सोधिएको हो ।

यस्तै आयोगले बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापा, सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव सापकोटा लगायतलाई स्पष्टीरण सोधेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोगले अहिलेसम्म सोधेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भएको छ ।