


निर्वाचन आयोगका अनुसार सबै जिल्लाबाट मत गणना सकिएको जानकारी आएको छ र मत रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्छ ।
कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ र नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ भने सबभन्दा थोरै नेश्नलीष्ट पिलल्स पार्टीले पाएको छ । उसले २ हजार १८ मत मात्र पाएको छ । यो पार्टीले प्रत्यक्षतर्फ २० क्षेत्रमा उम्मेदवार उठाएको थियो, जसमध्ये सबभन्दा धेरै महोत्तरी ३ का जिवछी देजीले २४२ मत पाउनु भएको थियो ।
प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ ।
कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । यसअनुसार उसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।
माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।
यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ र २० सांसद्सहित चौथो दल हुनेछ ।
अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।
तेस्तै तराई मधेश केन्द्रित दलमध्ये जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र समानुपातिकतर्फ ५ सिट पाउनेछ ।
पहिलो पटक संसदीय चुनाव लडेर सप्तरी २ मा उपेन्द्र यादवलाई हराउनु भएका सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने जसपाकै सरह ५ सिट पाउने भएको छ । उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ ।
७ दलले समानुपातिकको थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन्, प्रत्यक्षतर्फ पनि चुनाव जितेका ती पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।
प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने थ्रेसहोल्ड कटाउन सकेनन् ।

खबर बजार । २० मंसिर २०७९, मंगलवार २१:५५