अहिलेको अवस्थामा देउवाको विकल्प खोज्नु हुदैन : पूर्णबहादुर खड्का


काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरू मेटाउँदै देशलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको जिकिर गर्नुभएको छ ।

आज मङ्गलवार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका उपसभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेकपा एमालेसहितलाई जोडेर सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताउनुभयो । प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै रहेको भन्दै अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्न नहुने उहाँको भनाइ छ ।

उपसभापति खड्काले आउँदा दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वत: हुँदै जाने बताउँदै संसदीय दलको नेतामा सभापति देउवालाई जिताउन पनि युवा सांसदसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार निर्माण गरेर प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव भएको व्यक्ति सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ । आउँदा दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन हुनेछ । अरू नेतामा क्षमता नै छैन भन्ने होइन, जनतालाई आवश्यक नेतृत्व दिनसक्ने व्यक्ति देउवाजी नै हुनुहुन्छ । युवालाई भन्छु– संसदीय दलको नेतामा देउवाजीलाई सर्वसम्मत बनाऔँ ।’

उपसभापति खड्काले अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो ।