काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबिच जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।
यसअघि अर्को वर्षको फागुनमा निर्वाचन गर्ने समझदारीमा पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु प्रतिपक्षी दल नेकपा एमालेलगायत चौतर्फी दबावपछि जेठमै निर्वाचन गर्न तयार भएका हुन् ।
बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।
निर्वाचन आयोगले भने स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको छ ।
ऐन संशोधन गरिनेः
चौतर्फी दबावपछि जेठभित्रै निर्वाचन गर्न तयार भए पनि सत्तारुढ दलले स्थानीय तह निर्वाचन ऐन भने संशोधन गर्ने निर्णय गरेका छन् । ऐन संशोधन गर्न नियमित प्रक्रियाबाट संसदमा विधेयक लैजाने गठबन्धनका एक नेताले जानकारी दिनुभयो ।
ऐन संशोधनका लागि महान्यायाधिवक्ता खम्मबहादुर खाती र कानुन मन्त्रालयका अधिकारीहरुले मस्यौदा गरिरहेका छन् । स्रोतका अनुसार ऐनमा नै जनप्रतिनिधिको कार्यकाल संविधानमा जस्तै पाँच वर्ष तोक्ने र त्यसको ६ महिनाभित्र निर्वाचन गर्ने व्यवस्था गर्ने गठबन्धनको तयारी छ ।
त्यस्तै नयाँ निर्वाचनबाट आउने जनप्रतिनिधिको कार्यकाल पहिले निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिएको भोलिपल्टबाट शुरु हुने व्यवस्था ऐनमा गर्ने तयारी छ ।
खबर बजार । १५ माघ २०७८, शनिबार १५:१९