पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारको निर्देशन

काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।