महेन्द्रनगरमा आज बिहीवारदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा आज बिहीवारदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

महेन्द्रनगरको महेन्द्र स्मारकमा स्वर्गीय राजा महेन्द्र शाहको सालिक पुन:स्थापनाका विषयमा भएको विवादपछि कार्यालयले त्यस क्षेत्र आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महेन्द्रको सालिक राख्ने तयारी परेपछि विवाद भएको थियो ।

प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको शालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शनजस्ता आन्दोलन गर्न निषेध गरेको हो ।

‘सालिक पुन:स्थापान गर्ने वा नगर्ने विषयमा राजनीतिक दलबीच मतभेद देखियो’, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भन्नुभयो, ‘सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम गर्न निषेधाज्ञा जारी गरिएको हो ।’