कमल थापा राप्रपाबाट अलग, नयाँ पार्टी बनाउने तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टीबाट अलग हुनुभएको छ ।

एक विज्ञप्ति जारी गर्दै थापाले पार्टीभित्र आफ्नो कुराको सुनवाई नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गर्नुभएको छ ।

उहाँले विज्ञप्तिमा अत्यन्त भारी मन तथा पिडावोधका साथ आफूले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।

“पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ”, थापाले लेख्नुभएको छ ।

राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरूबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति सदैव आभारी रहने थापाले लेख्नुभएको छ। राप्रपामा कसैसँग पनि वैरभाव नरहेको भन्दै थापाले सबैको भलो होस् भन्ने कामनासमेत गर्नुभएको छ ।
स्रोतकाअनुसार थापा नयाँ पार्टी गठनको तयारीमा हुनुहुन्छ ।