हप्ताको पहिलो दिन शेयर बजारमा उच्च अङ्कको गिरावट

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ७९ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज फाइनान्स र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै समाज लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत तथा साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार उच्च अङ्कले घटेको दिन आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा चिरख्वा हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

आज ८५ लाख ५४ हजार कित्ता शेयर तीन अर्ब आठ करोड ६९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको २५ करोड १८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सन नेपालले झण्डै २४ प्रतिशत बोनस शेयर, एक दशमलव २५ प्रतिशत नगद लाभांश र २७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेसँगै लगानीकर्ता आकर्षित भएका हुन् ।