काँग्रेसभित्रको गुटबन्दीले सुर्खेत उद्योग वाणिज्य संघमा तालाबन्दी

सुर्खेत । नेपाली काँग्रेसभित्रको गुटबन्दीको कारण सुर्खेत उद्योग वाणिज्य संघमा तालाबन्दी भएको छ ।

संघको बहालवाला समितिमा बहुमतको आडमा एक पक्षले आगामी नेतृत्वको लागि आगामी चैत २६ गते निर्वाचन गर्ने निर्णय गरेसँगै अर्को पक्षले तालाबन्दी गरेको हो ।

२६ सदस्यीय समितिमा १५ जना (बहुमत) ले निर्वाचनको पक्षमा हस्ताक्षर गरेका छन् भने चार जनाले नोट अफ डिसेन्ट जनाएका र उनिहरूले नै तालाबन्दी गरेको बुझिएको छ ।

हाल काँग्रेस पक्षको कब्जामा रहेको संघभित्र काँग्रेस सभापति शेरबहादुर देउवा पक्ष (पूर्णबहादुर खड्का) निर्वाचन गर्ने पक्षमा छ भने, शेखर कोइराला पक्ष (हृदयराम थानी) निर्वाचन नगर्ने पक्षमा देखिएको छ ।

विपक्षी समूहले नोट अफ डिसेन्ट जनाएर विरोध गरेको केहि समयमै काँग्रेस जिल्ला कार्यसमिति सहसचिव हरि विष्ट, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्कालगायतको टोलीले कार्यालयमा तालाबन्दी समेत गरेको छ ।

हालका अध्यक्ष धनबहादुर रावतको कार्यकाल समाप्त हुँदै गर्दा वरिष्ठ उपाध्यक्ष हर्षबहादुर खड्का र महासचिव लक्ष्मण कँडेलबिचको शक्तिसंघर्ष अहिले उत्कर्षमा पुगेको बताइएको छ ।

देउवा टिमका व्यवसायीहरुले आफ्ना माग सम्बोधन नगरी एकाएक कार्यसमिति चयनका लागि चुनाव घोषणा गरिएको भन्दै तालाबन्दी गरेका हुन् ।

संघका पदाधिकारीहरुको गत मंसिरमा बसेको वैठकले आगामी चैत २६ गते निर्वाचन गर्ने घोषणा गरेको थियो ।

महासचिव लक्ष्मण कडेलले गैर–व्यवसायीहरुलाई सदस्यता दिएको र आफु निकट व्यवसायीहरुलाई नवीकरण गर्ने मौकासमेत नदिएको खड्का पक्षको दावी छ ।

वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले व्यवसायीहरु बाहिर भएमा संस्था र व्यवसायी दुबैैलाई बेफाईदा हुने भएकाले आफुहरुको माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

१ हजार २ सय जना व्यवसायीहरुले नवीकरण गर्न नपाएको र उनीहरू संस्थाबाट बाहिर हुँदा संस्था र व्यवसायी दुबैैलाई फाईदा नहुने उहाँको तर्क छ ।

संघका महासचिव लक्ष्मण कँडेलले भने संघलाई गैर-व्यवसायीहरुवाट मुक्त गराउने उद्देश्य बमोजिम निर्वाचनमा जाने निर्णय गरिएको दाबी गर्नुभएको छ ।

हालसम्म १ हजार ८ सय भन्दा बढिले सदस्यता नविकरण गरिसकेकाले निर्वाचन कुनैपनि हालतमा नरोकिने उहाँले प्रष्ट पार्नुभएको छ ।

दुई बर्षसम्म नविकरण नभएका व्यवसायीहरुको नविकरण गर्ने व्यवस्था विधानमै नभएकोले आफुहरु त्यो मागमा सहमत हुन नसकेको उहाँको भनाइ छ ।

निर्वाचन नजिकिए संगै पुनः विवाद र तालाबन्दी सुरु भएपछि व्यवसायीहरुको हकहित भन्दापनि संघ राजनीतिको अखडा बन्न थालेको भन्दै संघका साधारण सदस्य व्यवसायीहरु निराश भएका छन् ।