सुन-चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुन र चाँदीको मूल्य हाल सम्मकै उच्च दरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ ।

जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ ।

गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ । जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कारोबारका क्रममा (नेपाली समय १० : ५० बजे) सुन प्रतिऔंस ४३९७ अमेरिकी डलर पुगेको छ । त्यस्तै चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ । १ औंस बराबर २.४३ तोला हुन्छ ।