

सुर्खेत । रत्न लोकमार्गअन्तर्गत भेरी पुल र आसपासको क्षेत्रलाई उज्यालो र सुरक्षित बनाउन एक व्यवसायीले निजी लगानीमा ऊर्जा सहयोग गर्नुभएको छ ।
आर्यघाट नजिकै रहेको भेरीमा मलामी गएकाहरु रातिसम्म बस्नुपर्ने भएमा वा यात्रुहरुले विश्राम गर्नुपर्ने भएमा अध्यारो र असुरक्षित महसुस भएपछि सुर्खेतस्थित दैलेखी ऊर्जा घरले सोलार सिस्टम जडान गरेको हो ।
यसअघि विभिन्न सुरक्षा पोष्टहरुमा सोलार सिस्टम सहयोग र जडान गरेको दैलेखी ऊर्जाले व्यवसायले गर्नुपर्ने सामाजिक उत्तरदायित्त्वअन्तर्गतको कार्य गरेको बताएको छ ।
दैलेखी ऊर्जाका सञ्चालक मानप्रसाद देवकोटाले भेरीमा १०० वाटको सोलार सिस्टम जडान गरेको खबर बजारलाई जानकारी दिनुभयो ।उहाँकाअनुसार सो सिस्टम जडान गर्दासम्म करिव ३० हजार बराबरको खर्च भएको छ ।
केहि समयअघि मात्रै सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत छेडास्थित सुरक्षा जाँच अस्थायी पोष्टमा अध्यारोको कारण रातिको समयमा चेकजाँचमा समस्या आएको देख्नासाथ त्यहाँ पनि दैलेखी ऊर्जाले निःशुल्क सोलार सिस्टम जडान गरेको थियो ।
छेडामा जडान गरिएको ५० वाट्को सिस्टमलाई जडान गर्दा त्यति बेला करिव २० हजार खर्च भएको देवकोटाले बताउनुभएको छ ।

खबर बजार । १६ चैत्र २०७८, बुधबार १८:३५