
बाँके । विभिन्न स्थानीय तहका टोल विकास संस्थामा एक वर्ष (सन् २०२५) को अवधिमा भएका गतिविधिको समीक्षा गरिएको छ ।
कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिका, नारायण नगरपालिका र गुराँस गाउँपालिका, सुदुरपश्चिम प्रदेशका टीकापुर नगरपालिका र भजनी नगरपालिका तथा गण्डकी प्रदेशको बुढानिलकण्ठ नगरपालिकामा भएका प्रगतिको समीक्षा लुम्बिनी प्रदेशको नेपालगञ्जमा गरिएको हो ।


सम्बन्धित स्थानीय तहका सरकार, अष्ट्रेलियन एड, द एशिया फाउन्डेसन र सहकर्मी समाजको साझेदारीमा सञ्चालित स्थानीय सरकार सवलीकरण परियोजनाबाट टोल विकास संस्थामा भएका परिवर्तन र प्रगतिको सन्दर्भमा छलफल, समीक्षा र आगामी योजना समेत तयार गरिएको छ ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहका तल्लो तहका अङ्गलाई सवलीकरण गरी विकास निर्माणका कार्यमा जनसहभागिता र सुशासन प्रवर्द्धन गर्न केहि स्थानीय तहमा तीन वर्षदेखि, केहिमा दुई वर्षदेखि, केहिमा एक वर्ष र केहि स्थानीय तहमा ६ महिनादेखि परियोजना सञ्चालन गरिएको सहकर्मी समाजका कार्यकारी निर्देशक अमरबहादुर ऐरले बताउनुभएको छ ।
समीक्षा गर्दा टोल विकास संस्थाको विगतको अवस्था र वर्तमान अवस्था (उहिले-अहिले) को तुलना समेत गरिएको छ । साथै, टोल विकास संस्थाका आगामी कार्ययोजनालाई कसरी सफल बनाउने भन्ने विषयमा समेत गम्भीर छलफल भएको कार्यकारी निर्देशक ऐरले बताउनुभएको छ ।

समीक्षा कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, परियोजनाका फोकल पर्सन, व्यवस्थापन समूह, सामुदायिक सहजकर्तालगायतको सहभागिता रहेको सहकर्मी समाजका फिल्ड अधिकृत पार्वती पाण्डे (चालिसे)ले खबर बजारलाई जानकारी दिनुभयो ।




खबर बजार । १४ पुष २०८२, सोमबार १५:२२