f सल्यानबाट ५४ करोडको कृषिजन्य वस्तु निकासी

सल्यानबाट ५४ करोडको कृषिजन्य वस्तु निकासी

सुर्खेत । सल्यानबाट चालु आर्थिक वर्ष २०७८।०७९ को दुई चौमासिकमा ५४ करोड बढीको कृषिजन्य वस्तु निकासी भएको छ।

चालु आ।व।को साउन देखि फागुनसम्म विभिन्न १४ हजार १०७ मेट्रिकटन कृषिजन्य वस्तु निकासीबाट ५४ करोड ५१ लाख ४१ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

कार्यालयका अनुसार १ हजार ७५० मेट्रिकटन खाद्यान्न बाली निकासीबाट ५ करोड ६० लाख, ३ हजार ५८० मेट्रिकटन सुन्तला निकासीबाट २० करोड ४० लाख ६० हजार, ३ हजार ५० मेट्रिकटन तरकारी निकासीबाट १२ करोड ३५ लाख २५ हजार आम्दानी भएको छ।

यस्तै ४ हजार २८५ मेट्रिकटन अदुवा निकासीबाट ११ करोड ९९ लाख ८० हजार, १ हजार २ सय १८ मेट्रिकटन बेसारबाट २ करोड ६७ लाख ९६ हजार, ३।५ मेट्रिकटन महबाट ३५ लाख, १९० मेट्रिकटन आलुबाट ५७ लाख र ३१ मेट्रिकटन अन्य निकासीबाट ५५ लाख ८० हजार रुपैयाँ जिल्ला भित्रिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा धान, मकैको उत्पादन घटेको बस्नेतको भनाइ छ। अधिक वर्षा हुँदा उत्पादनमा कमी आएको उनको भनाइ छ। यस्तै सुन्तलाको बगैँचा पुरानो हुँदै जानु, सिट्रस ग्रिनिङका कारण सुन्तलाको उत्पादनमा पनि कमी आएको बस्नेतले बताउनुभयो ।

अन्य तोरी, कोदो, स्याउ, अदुवा, तरकारी, आलुमा पनि उत्पादनमा वृद्धि आएको कार्यालयले जनाएको छ।