पुजा-आरधनाको साथ महाशिवरात्रि पर्व मनाइदै

काठमाडौं । आराध्यदेव भगवानको रुपमा मानिएका शिवको विधिपूर्वक पूजा-आराधना गरी महाशिवरात्रि पर्व मंगलबार देशभर मनाइँदैछ ।

देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । यद्यपि, सुर्खेतको वीरेन्द्रनगरमा भने, कर्फ्यु आदेशको कारण शिवालयमै पुगेर गरिने पुजा आराधना प्रभावित बनेको छ ।

प्रतिनिधि सभाबाट अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित भएको बिरोधमा जारी आन्दोलन उग्र बनेसँगै कर्फ्यु जारी गरिएको हो ।

शिवको पूजा आराधना गरे सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गरेका छन् ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।