काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने सर्वसम्मत निर्णय गरेको छ ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिनु भयो ।
बैठकपछि उहाँले भन्नु भयो, ‘गृहमन्त्री माननीय रवि लामिछाने जी सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको कुरालाई हामीले उठाइरहेका छौं । त्यसको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय समिति गठन गर्ने माग हामीले गरिराखेका छौं । आजको संसदीय दलले नेपाली कांग्रेसले उठाउँदै आएको काम उचित छ भन्ने ठहर गरेको छ, सर्वसम्मतीले ।’
त्यससँगै आजको बैठकले तत्काल नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरेको उहाँले बताउनु भयो ।
यदि कांग्रेसको माग सम्बोधन नभए संसद अवरोधको जिम्मा सरकारले लिनुपर्ने उहाँले चेतावनी दिनु भयो । लेखकले भन्नु भयो, ‘नेपाली कांग्रेसले उठाएको मागप्रति यदि सरकार गैरजिम्मेवारपूर्ण ढंगले प्रस्तुत भयो भने कुनै पनि संसदको बैठक अथवा संसदका कामकारबाही अवरुद्ध हुने कुराको जिम्मा नेपाली कांग्रेस होइन, अहिलेको सरकारले लिनुपर्छ भन्ने पनि आजको दलले सर्वसम्मत निर्णय गरेको छ ।’
खबर बजार । २७ चैत्र २०८०, मंगलवार ११:२२