शुरू हुँदै दशौंं पीएम कप एनभीए भलिबल लिग

पहिलो दिन चार खेल 

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

नवौँ एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिपबाट छनोट भएका शीर्ष टोलीहरुले दशौँ एनभीएल लिग खेल्न लागेका हुन् ।

नवौँ एनभीएल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमण्डले जितेको थियो ।

लिगका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइने छ । एनभीए लिगमा महिला र पुरुषतर्फ गरी कूल ४५ खेल हुनेछन् । जसमा लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

एनभीएल लिगका उत्कृष्ट टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले सन् २०२६ मा आयोजना गर्ने काभा क्लब च्याम्पियनसिप (महिला र पुरुष) मा छनोट हुने प्रावधान रहेकोले सहभागि सबै टोलीका लागि एनभीएल भलिबल लिग महत्वपूर्ण हुने छ ।

पहिलो दिन चार खेल

लिगको पहिलो दिन महिला र पुरुषतर्फ दुई-दुई गरी जम्मा चार खेल हुने छन् । महिलातर्फ बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने बिहान १० बजे नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच खेल हुने छ ।

यस्तै पुरुषथर्फ हेल्प नेपाल क्लब र बुढानिलकण्ठ भलिबल क्लबबीच मध्यान्न १२ बजे खेल हुनेछ भने त्रिभुवन आर्मी क्लब र खिल्ली युवा क्लबबीचको खेल अपरान्ह ४ बजे सुरु हुने तालिका छ । यसैगरी उद्घाटन समारोह दिउँसो ३ बजे हुने नेपाल भलिबल संघले जनाएको छ ।

विजेतालाई १० लाख पुरस्कार

यसपटक एनभीए लिग जित्ने टोलीले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । लिगमा महिला र पुरुष दुवैतर्फ विजेतादेखि अन्य पुरस्कार समान राखिएको छ ।

लिगको दुवै विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । नेपाली भलिबल इतिहासमा नेपाल भलिबल संघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो ।

यस्तै महिला र पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार हात पार्नेछन् भने दुवैतर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकले ३०-३० हजार प्राप्त गर्नेछन् ।

नवौँ एनभीए लिगमा महिला र पुरुष दुवैतर्फ विजेताले नगद ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख प्राप्त गरेका थिए भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट सबैले २५ हजार पाएका थिए ।

नवौँ पीएम कप एनभीए लिगमा पुरुषतर्फ हेल्प नेपाल र महिला तर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।