
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज शनिबारदेखि सुरु हुँदैछ ।
घरेलु टोली नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि मैदामा सुरु हुनेछ । दुबै टोलीले यसअघि दुई खेलको टी–२० आई सिरिज खेलेका थिए । जसमा सिरिज १–१ को बराबरीमा टुंगिएको थियो।
नेपाल र यूएई एसोसिएट्सका चीर परिचित प्रतिद्वन्द्वी हुन् । दुई टोलीबीच १७ एकदिवसीय खेल हुँदा नेपालले ९ खेल जितेको छ भने यूएईले ८ खेलमा सफलता प्राप्त गरेको छ ।
शीर्ष छ भित्र पुग्न नेपालले दुई वटा श्रृङ्खलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने छ।
यूएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा ४ खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप ४ खेल गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न कम्तिमा पाँच खेल जित्नुपर्नेछ ।
जम्मा २० खेलबाट १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानडालाई पछि पार्न कम्तिमा पाचौँ खेलको जित पर्याप्त हुनेछ भने चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई भेट्टाउन सबै खेलमा राम्रो स्कोरका जित आवश्यक छ ।
२१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको क्यानडा, २२ अङ्कसहित पाँचौँ स्थानमा रहेको नामिबियालाई तथा २८ अङ्कसहित चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई पछाडि पार्न लगातार खेल जित्नुको विकल्प छैन ।
अघिल्लो संस्करणको जस्तो खेलको नतिजा आए शीर्ष चारसम्म पुग्न ती आठ खेल नै काफि हुन्छन्।
नेपालले आज यूएईपछि वैशाख १६ गते बुधबार ओमानसँग, वैशाख १८ गते शुक्रबार यूएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ ।
नेपालले गत नोभेम्बर र अक्टोबरमा भएको श्रृङ्खलामा यूएईसँग दुबै खेल हारेको थियो भने ओमानसँग २०२४ को सेप्टेम्बरमा भएको प्रतिस्पर्धामा दुईमध्ये एक खेलमा पराजय भोग्दा अर्को खेल भने स्थगित भएको थियो ।
लिग २ तालिकामा नेपाल २० खेलमा पाँच जितसहित १२ अङ्कका साथ पुछारबाट दोस्रो अर्थात सातौँ स्थानमा छ । नेपालले दुई खेलबाट एक–एक अङ्क बटुलेको छ । स्कटल्याण्ड र ओमानसँगको एक–एक खेल रद्द भएर दुबै टिमले अक बाँडेका थिए ।
ओमान २४ खेलमा १३ जित र ७ हारसँगै २९ अङ्कसहित तेस्रो स्थानमा छ । यसैगरी नेपाल जतिनै समान २० खेल खेलेको युएई ५ जित र १५ हारका साथ १० अङ्क बटुल्दै तालिकाको पुछारमा छ ।
यस्तै ओमान र यूएई सम्मिलित श्रृङ्खला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को श्रृङ्खला सुरु हुनेछ । उक्त श्रृङ्खला वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चल्नेछ ।
नेपालले वैशाख २९ गते मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ । यसैगरी जेठ २ गते शनिबार अमेरिकासँग खेल्नेछ भने जेष्ठ ४ गते सोमबार पुनः स्कटल्याण्डसँग र जेठ ८ गते शुक्रबार पुनः अमेरिकासँग नेपालले प्रतिस्पर्धा गर्नेछ ।
दुबै श्रृङ्खला त्रिवि क्रिकेट मैदानमा हुनेछ । सबै खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपालले अमेरिकासँग यसअघि गत अक्टोबर–नोभेम्बरमा भएको प्रतिस्पर्धामा दुबै खेल हारेको थियो भने सन् २०२४ को अक्टोबर नोभेम्बरको दुबै खेलमा पनि नेपाल अमेरिकासँग पराजित भएको थियो ।
गत जुनमा भएको श्रृङ्खलामा स्कटल्याण्डसँगको एक खेल जितेको नेपालले अर्को खेल भने पराजय भोगेको थियो । सन् २०२४ को अक्टोबर नोभेम्बरको प्रतिस्पर्धामा १ खेल स्कल्याण्डसँग निराश बन्दा अर्को खेल रद्द हुँदा दुबैले अङ्क बाँडेका थिए ।
तालिकामा अमेरिका २४ खेलमा १८ जित र छ हारका साथ ३६ अङ्क जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा १४ जित र आठ हारका साथ ३४ अङ्क जोडेर दोस्रो स्थानमा छ ।
स्कटल्याण्डले छ वटा खेलमा एक–एक अङ्क जोडेको छ । तेस्रो स्थानको ओमानसँग २४ खेलमा २९ अङ्क छ भने चौथो स्थानको नेदरल्यान्ड्सको २४ खेलमा १३ जित र नौ हारका साथ २८ अङ्क छ। उसको थप दुई अङ्क खेल रद्द हुँदा प्राप्त भएको छ ।
यसैगरी नामिबियाले २८ खेलबाट १० जित, दुई खेल नतिजाविहीन र १६ हारका साथ २२ अङ्क बनाएको छ । नामिबिया पाँचौँ स्थानमा छ । क्यानडा २४ खेलमा नौ जित, तीन नतिजाविहीन खेलको तीन अङ्कसँगै २१ अङ्कका छैटौँ स्थानमा छ ।
सन् २०२४ को फेब्रुअरीमा त्रिवि मैदानमै लिग २ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले पहिलो खेलमा नामिबियासँग चार विकेटले हार्न पुग्यो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराउन सफल भयो ।
तेस्रो खेलमा नामिबियासँग दुई विकेटले पराजित हुँदा चौथो खेलमा नेदरल्याण्ड्सले नेपाललाई आठ विकेटले स्तब्ध पार्यो । यो श्रृङ्खलामा नेपालले मात्र दुई अङ्क जोड्न सक्यो ।
सन् २०२४ को सेप्टेम्बरमा क्यानडामा भएको चार खेलमा नेपालले कुनै पनि खेल जित्न सकेन । उक्त भ्रमणमा क्यानडाले पहिलो खेलमा नेपालमाथि १०३ रनले तथा अर्को खेलमा पाँच विकेटले हरायो ।
ओमानसँगको पहिलो खेलमा नेपाल एक विकेटले पराजित हुँदा अर्को खेल रद्द भएर टुरमा नेपालको खातामा एक अङ्क मात्र रह्यो ।
सन् २०२४ कै अक्टोबर र नोभेम्बरमा अमेरिकाको डल्लासमा भएको अर्को श्रृङखला पनि नेपालका लागि त्यत्ति सुखद रहेन । नेपालले यो टुरबाट तीन अङ्क बटुल्यो ।
स्कटल्याण्डसँगको खेल नतिजावीहिन हुँदा नेपालले त्यसबाट एक अङ्क पायो भने अर्को खेलमा स्कटल्याण्डलाई नै पाँच विकेटले हरायो ।
अमेरिकाले भने दुबै खेल आफ्नो पक्षमा पार्यो । अमेरिकाले नेपालमाथि पहिलो खेलमा ३७ रन तथा अर्को खेलमा तीन विकेटको जित हात पार्यो ।
सन् २०२५ को जुनमा स्कटल्याण्डमा भएको श्रृङ्खला नेपालका लागि सुखद रह्यो। खेलेका चार खेलमा तीन खेल जित्दै नेपालले ६ अङ्क बटुल्यो ।
नेपालले आयोजक स्कटल्याण्डलाई पहिलो खेलमा एक विकेटले हरायो भने अर्को खेलमा स्कटल्याण्डसँग दुई रनले हार्न पुग्यो । यी दुबै खेलमा अन्तिम बलले जित र हारको निर्णय गरेको थियो । यो टुरमा नेदरल्याण्ड्स दुबै खेलमा नेपालसँग पराजित भयो । पहिलो खेलमा पाँच विकेट र दोस्रो खेलमा १६ रनले नेपाल विजयी भयो ।
सन् २०२५ को अक्टोबर–नोभेम्बरमा यूएईमा भएको श्रृङ्खला नेपालका लागि निराशाजनक रह्यो । यूएई र अमेरिकासँगका सबै खेल नेपालले हार्न पुग्यो । यूएईले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा पाँच विकेटले नेपाललाई हरायो । यस्तै अमेरिकाले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा १०६ रनले नेपाललाई स्तब्ध पार्यो ।




खबर बजार । १२ बैशाख २०८३, शनिबार ०८:५१