काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले एक बल बाँकी छँदा पूरा गर्यो ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गर्नुभयो । उहाँ ३२ बलमा ६२ रन अविजित रहनुभयो । उहाँले ४ चौका र ३ छक्का प्रहार गर्नुभयो । उहाँले सातौं विकेटका लागि गुल्सन झासँग ६४ रनको अविजित साझेदारी गर्नुभयो । गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहनुभयो ।
अन्तिम ओभरमा कर्णालीलाई जितको लागि ८ रन आवश्यक थियो । पहिलो बलमा सोमपालले एक रन लिनुभयो । गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन लिनुभयो । विराटनगरका लोकेश बमले गुल्सनको क्याच आउट ड्रप गर्नुभयो । चौथो र पाँचौ बलमा दुईदुई रन लिँदै सोमपालले कर्णालीलाई रोमाञ्चक जित दिलाउनुभयो ।
त्यसअघि सोमपालले छैटौं विकेटका लागि पवन सर्राफसँग ६६ रनको साझेदारी गर्नुभएको थियो । पवन २८ बलमा ३६ रन बनाएर आउट हुनुभयो । कर्णालीले सुरुवाती ५ विकेट सस्तो मै गुमाएको थियो । मार्क वाट एक, दीपक डुम्रे २०, अक्बर अली एक, अरिफुल इस्लाम ३२, हुसेन तलत कुनै पनि रन नजोडी पभेलियन फर्किनुभयो । त्यसपछि कर्णालीलाई सोमपाल र पवनले कर्णालीलाई सम्हाल्नुभयो ।
बलिङमा एन्जेलो म्याथुजले सर्वाधिक ३ विकेट लिनुभयो । चरिथ असलंंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिनुभयो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि ओपनर लोकेश बमले शानदार प्रदर्शन गर्नुभयो । उहाँले ५२ बलमा ८७ रनको योगदान दिनुभयो । बमले ३ चौका र ९ छक्का प्रहार गर्नुभयो । चौथो विकेटका लागि लोकेशले एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गर्नुभएको थियोे । १६औं ओभरको पाँचौं बलमा कर्णालीका कप्तान सोमपाल कामीबाट आउट भएसँग लोकेश एनपीएलमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी बन्नबाट १३ रनले टाढा रहनुभयो ।
एन्जेलो २२ बलमा ३१ रनमा आउट हुनुभयो । ओपनर इम्रान शेख ५, चरिथ असलंका ३ र शेहान जयसूर्या ११ रनमा आउट हुनुभयो । आन्द्रे रसेल १५ बलमा २७ रन बनाएर आउट हुनुभयो । बसिर अहमद १३ रनमा आउट हुँदा सुजन थपलिया अविजित रहनुभयो ।
बलिङमा कप्तान सोमपाल कामी एक्लैले ४ विकेट लिनुभयो । ४ ओभरमा सोमपालले ३३ रन खर्चिनुभयो । सोमपालले लोकेश, आन्द्रे, एन्जेलो र चरिथलाई आउट गराउनुभयो । मार्क वार्ट र नन्दन यादवले एकएक विकेट लिनुभयो । मार्कले बलमा ओपनर इम्रान आउटको शिकार बन्नुभयो । नन्दनले अन्तिम बलमा बसिरलाई बोल्डआउट गर्नुभयो ।