आत्मनिर्भर र खुसी अनुहारहरु…(भिडिओ)

सुर्खेत । सिम्ता गाउँपालिका वडानम्बर ६ जामुनेबजारकी पुष्पा रावतसँग धेरै फुर्सदिलो समय छैन । किनकी उहाँ आफ्नो ढाँका तथा कपडा बुन्ने काममा निकै व्यस्त हुनुहुन्छ । उहाँसँग कुरा गर्न अलि पहिल्यै समय माग्दा राम्रो ।

पुष्पाले निकै मेहेनतको साथ सुन्दर सुन्दर साडीहरु, टोपी, रुमाल, दोसल्लालगायत तयार गर्नुहुन्छ । घरमै सञ्चालन गरिएको व्यवसायबाट मासिक रुपमा ३० देखि ४० हजार रुपैयाँ चोखो आम्दानी पुष्पाको छ ।

सिम्तामा पुग्नुभयो भने तपाईले फर्कँदा ल्याउनुहुन्छ ‘सिम्ताको चिनो’ । त्यो चिनो पुष्पाकै हातबाट तयार गरिएको हो । पुष्पाले उत्पादन गरेका बस्तुहरुको माग बढ्न थालेपछि अब कम्तिमा एक जना साथि चाहिएको छ ।

केहि समयअघि सिम्ता गाउँपालिकाले सीपमुलक तालिमको आयोजना गर्दा पुष्पा र उहाँका केहि अन्य साथिहरु सहभागि हुनुभयो । तीन महिनाको तालिमपछि पुष्पाले शुरुमा मात्र १० हजार रुपैयाँको लगानीमा व्यवसाय शुरु गर्नुभएको हो ।

पुष्पा मात्र होइन । सिम्ता गाँउपालिकामा नागरिकलाई स्वरोजगार बनाउने आधार तयार भएको छ । सिम्ता गाउँपालिका वडा न. ६ सुन्दरवस्तीमा समुह बनाएर नागरिकहरुलाई व्यवसायिक तरकारी खेतिमा आवद्ध गराइएको छ । यहाँका महिलाहरु अहिले आत्मनिर्भर बन्दैछन् ।

पहिला चुलो चौकामै सिमित हुने सुन्दर बस्तीकी सुर्जकला अहिले व्यवसायिक तरकारी खेति गरेर खुसी हुनुहुन्छ । पुष्पा र सुर्जकला मात्र होइन । सिम्ता गाउँपालिकाका अधिकांस मानिसहरु आत्मनिर्भरताको बाटोमा छन् । समय लाग्ला तर आत्मनिर्भर सिम्ताली बन्ने आशा गर्न सकिन्छ ।

हेर्नुहोस् भिडिओः