मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २० , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

सङ्घीय निकायका सेवा घर नजिक पुर्‍याउँदै नरैनापुर

करदाता सेवापछि भूमि व्यवस्थाको सेवासमेत पालिकामा 

२ मिनेट पढाइ

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको सहजताको लागि सङ्घीय निकायबाट प्रदान गरिने सेवालाई घरदैलोमै पुर्‍याउन थालेको छ । सङ्घीय निकायको सानोतिनो काम गर्न पनि आफ्ना नागरिक नेपालगन्ज जानुपर्ने बाध्यता रहेको भन्दै गाउँपालिकाले अत्यावश्यक त्यस्ता सेवा स्थानीय तहमा पुर्‍याउन पहल गरिरहेको हो ।

जसअनुसार कात्तिक १२ गते गाउँपालिकामा करदाता सेवा केन्द्र सञ्चालनमा ल्याइएको नरैनापुरले आजदेखि नापी तथा मालपोतसम्बन्धी सेवा आफ्नै कार्यालयबाट सुरु गरेको छ । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर-४ निवासी साहदुला पठानिनलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) हस्तान्तरण गर्दै भूमि प्रशासन सेवाको शुभारम्भ गर्नुभएको हो ।

गाउँपालिकामा स्थापना गरिएको भूमि व्यवस्थापन शाखामार्फत जग्गा पास, कित्ताकाट, नामसारीलगायतका सेवा उपलब्ध गराउन थालिएको छ । सेवा शुभारम्भका अवसरमा नरैनापुर-५ का विनय दीक्षितलाई पनि लालपुर्जा प्रदान गरिएको छ ।

भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनका लागि नेपाल भू-सूचना प्रणाली, भूमि अभिलेख व्यवस्थापन सूचना प्रणाली र सार्वजनिक पहुँच प्रणाली प्रयोग गरिनेछ । यी प्रणालीमार्फत जग्गासम्बन्धी अभिलेख व्यवस्थापन, विवरण अद्यावधिक तथा सेवा प्रवाहलाई विद्युतीय माध्यमबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शाहले स्थानीय नागरिकलाई सामान्य जग्गासम्बन्धी कामका लागि समेत जिल्ला सदरमुकाम नेपालगन्ज धाउनुपर्ने बाध्यता कम गर्न सेवा सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार नागरिकलाई आफ्नै पालिकाबाट सेवा उपलब्ध गराउँदा समय, खर्च र प्रशासनिक झन्झट घट्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले आन्तरिक प्रशासनमा पनि प्रविधिको प्रयोग बढाउँदै लगेको छ । प्रमुख प्रशासकीय अधिकृत नवराज वलीको नेतृत्वमा सूचना प्रविधि, शिक्षा र प्रशासन शाखाका कामकाजलाई क्रमश: विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने अभ्यास अघि बढाइएको हो ।

सेवा प्रवाहलाई नियमित, व्यवस्थित र पारदर्शी बनाउने गरी आवश्यक समन्वय अघि बढाइएको उहाँको भनाइ छ ।

अभिलेख व्यवस्थापन, कार्यालय सञ्चालन र सेवा प्रवाहमा कागजको प्रयोग घटाउँदै प्रशासनिक प्रक्रियालाई छिटो, सरल र व्यवस्थित बनाउने प्रयास भइरहेको छ ।

शिक्षा क्षेत्रमा समेत विद्यालयको अनलाइन हाजिरी, विद्युतीय शैक्षिक अभिलेख व्यवस्थापन तथा सीसीटीभीमार्फत अनुगमन गर्ने व्यवस्था विस्तार गरिएको छ । पहिलो चरणमा माध्यमिक विद्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत वलीले यसअघि प्रशासनिक सुधारलाई कार्यालयभित्रका प्रक्रियामा मात्र सीमित नराखी नागरिकले प्रत्यक्ष सेवा प्राप्त गर्ने क्षेत्रमा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभएको थियोे ।