कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण

विद्युत समस्या समाधान हुने अपेक्षामा कर्णालीबासी

सुर्खेत । कर्णाली प्रदेशको लागि बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण गरिएको छ ।

१३२ केभी प्रशारण लाइनको निर्माण सम्पन्न भएसंगै कर्णालीबासीले भोग्दै आएको विद्युत समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

सात वर्षअघि निर्माण थालिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजनाको परिक्षणसंगै कर्णालीको विद्युत् आपूर्तिमा हुने अनियमितता तथा लो भोल्टेजको समस्या समाधान हुने अपेक्षा स्थानीय नागरिकको छ ।

प्रशारण लाईनको परिक्षण थालिएको र छिटफुट ठाउँहरुमा बाहेक कतै समस्या नदेखिएको आयोजना प्रमूख रवी चौधरीले बताउनुभयो ।

बाँकेको कोहलपुरस्थित सबस्टेशनदेखि वीरेन्द्रनगरको सुब्बाकुनामा निर्माण गरिएको सबस्टेशनमा डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरेर परीक्षण गरिएको उहाँको भनाइ छ ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर नगरपालिकाको वडा नं. १० चटार, वडा नं. १३ सिम्रिक क्षेत्रसहित बैजनाथ गाउँपालिका वडा नं. ४ बाँनियाभार र वडा नं. १ गाभर क्षेत्र पर्दछन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नं. १ बबई क्षेत्र हुँदै प्रसारण लाइन विस्तार गरिएको छ ।

सुर्खेतमा भेरीगंगा नगरपालिकाको वडा नं. ५ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसहित वडा नं. ४ हर्रे र ताउलेखोला, वडा नंं. १० को झिलमिले र थानीचौरलगायतका क्षेत्र पनि विद्युत प्रसारण लाइन आयोजना क्षेत्रमा छन् । त्यसबाहेक पनि भेरीगंगाकै वडा नं. १२ र वडा नं. १३ मा पर्ने सामुदायिक वन र वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ सुब्बाकुना यो आयोजनासँग जोडिएका छन् ।

परीक्षणपश्चात् आयोजना सञ्चालनमा आउने कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना २०७७ सालदेखि सुरुवात गरिएको थियो ।

बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ ।

कोहलपुर–सुर्खेतसम्म १६१ वटा टावर रहेका छन् । सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको थियो । अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णाली प्रदेशका जिल्लाहरूमा सञ्चालनमा छ ।