
काठमाडौं । निर्वाचन त हुँदैछ । यसलाई मत दिने भन्ने पनि धारणा बनाइसक्नु भएको छ । तर, आफूले दिएको मत बदर पो हुने हो कि ? यस्ता अलमल छन् ?

यदि अलमलमै हुनुहुन्छ भने, चिन्ता नलिनुहोस् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत मतदाता शिक्षा कार्यक्रम लिएर निर्वाचन आयोग नागरिकका घर–घर पुग्दैछ ।
आयोगले यही माघ १९ गते मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम नै स्वीकृत गरेको छ । जसअनुसार हरेक वडामा एक/एक जना स्वयंसेवक खटाइँदैछ ।
मतदान प्रक्रियाको विशिष्टता र मतदान गर्ने विधि र प्रक्रियाबारे मतदातालाई जानकारी गराउन सूचना सामग्री तथा कार्यक्रमसम्बन्धी जानकारी प्रवाह गर्ने कार्यलाई मतदाता शिक्षा भन्ने गरिन्छ ।
यस अन्तर्गत मतदातालाई निर्वाचन प्रक्रिया, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, उम्मेदवार, राजनीतिक दल लगायतका विषयमा जानकारी दिने उद्देश्य राखिएको छ ।
निर्वाचन आयोगकाअनुसार स्वयंसेवकले एक महिनासम्म नागरिकका घर–घर पुगेर मतदान गर्ने तरिकाबारे सिकाउनेछन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत निर्वाचित हुन्छन् । यसपटकको निर्वाचनमा समानुपातिकतर्फ ६३ दलले चुनाव लड्दैछन् । एकल र संयुक्त चुनाव गरेर समानुपातिक तर्फको मतपत्रमा भने ५७ वटा मात्रै चुनाव चिह्न रहनेछ ।




खबर बजार । २२ माघ २०८२, बिहीबार ११:३४