काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिनु भएको छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउनु भएको हो ।
१० पुसमा प्रचण्डलाई समर्थन गरेको जमनतले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।
११ पुसमा विना विभागीयमन्त्री बन्नु भएका खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उहाँले ११ माघमा पदभार सम्हाल्नु भएको थियो ।
राष्ट्रपति निर्वाचनसँगै सत्ता गठबन्धन भत्कियो, र कांग्रेससहितको नयाँ गठबन्धन बन्दा कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपति दिने सहमति गरेपछि जनमतले उपप्रधानसहित दुई मन्त्रालय आफूहरुले पाउनुपर्ने माग राखेको थियो । पछिल्ला छलफलहरुमा प्रदेश २ को मुख्यमन्त्री र केन्द्रमा उद्योग मन्त्रालय पाउनुपर्ने जनमतको माग थियो । त्यसमा सकारात्मक देखिनु भएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग मन्त्रालय कांग्रेसलाई दिएपछि खानेपानी मन्त्री खानले राजीनामा दिनु भएको हो ।
खबर बजार । १७ चैत्र २०७९, शुक्रबार १५:४२