बुर्तिबाङ सवस्टेसन सञ्चालनमा

बागलुङ । बागलुङस्थित एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ ।

फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो ।

कपिलवस्तुको मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन निर्माण वि. सं. २०७८ चैत १२ गते सुरु भएकामा अघिल्लो वर्ष असार ७ गतेदेखि सञ्चालन गर्ने योजना थियो ।

ठाउँठाउँमा काम गर्दा अवरोध आएपछि समयमा सञ्चालनमा ल्याउन नसकेको आयोजना प्रमुख मनोज चौधरीको भनाई छ ।

पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्नका लागि कपिलवस्तुको मोतिपुरबाट आयोजनाले अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेसन वि.सं. २०७८ देखि निर्माण सुरु भएको थियो ।

ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेसन निर्माण गरेर सञ्चालन गरिएको आयोजना प्रमुख चौधरीले जानकारी दिनुभयो ।

कपिलवस्तुबाट बुर्तिबाङसम्म ८६ किलोमिटर दूरी रहेको छ । चौधरीकाअनुसार चार अर्ब ७९ करोड रुपैयाँको लागतमा आयोजना सञ्चालनमा आएको हो ।