f बाढीमा फसेका ९ हजारभन्दा धेरैको उद्धार, साढे २ हजार बढी सम्पर्कविहीन

बाढीमा फसेका ९ हजारभन्दा धेरैको उद्धार, साढे २ हजार बढी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा फसेकामध्ये अहिलेसम्म ९ हजारभन्दा धेरैको उद्धार भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारीअनुसार प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार गरिएको छ ।

जलविद्युत् आयोजनाका सुरुङबाट २७९ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले २५४ विदेशी र तीन हजार ६७ नेपालीको हवाई उद्धार गरेको छ ।

बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव तथा मानव अंग भेटिएको हो ।

बाढीपछि सम्पर्कविहीन हुनेको संख्या दुई हजार ५०२ रहेको छ । सम्पर्कविहीन हुनेमा २५ नेपाल प्रहरी, ४५ नेपाली सेना, १३ सशस्त्र प्रहरी बल नेपाल, १५ जना भन्सार कार्यालयका कर्मचारी, चारजना अध्यागमन कार्यालयका कर्मचारी छन् ।

विभिन्न जलविद्युत् आयोजनमा कार्यरत ९३३, विदेशी ५९२ जना, विदेशीसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी, क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि सम्पर्कविहीन छन् । यस्तै, रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा २० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।