विश्वकपमा इरानको सहभागिता सुनिश्चित भएको फिफाको दावी

एजेन्सी । मध्यपूर्वमा चलिरहेको तनाव र युद्धको प्रभावबीच पनि विश्वकप २०२६ मा इरानको सहभागिता सुनिश्चित रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताउनुभएको छ । उहाँकाअनुसार खेलकुदलाई राजनीतिक द्वन्द्वबाट अलग राख्नुपर्छ र योग्यताका आधारमा इरानले प्रतियोगितामा भाग लिन पाउनु अनिवार्य छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनबीसीले आयोजना गरेको एक आर्थिक सम्मेलनमा बोल्दै इन्फान्टिनोले इरानको सहभागितामा कुनै अन्योल नरहेको बताउनुभयो । साथै उहाँले इरानी टोलीले आफ्ना नागरिकको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूलाई खेल्नबाट रोक्न नहुने धारणा व्यक्त गर्नुभयो । यसअघि पनि उहाँले मार्च महिनामा टर्किएको अन्टाल्यामा भएको इरान र कोस्टारिकाबीचको मैत्रीपूर्ण खेलका क्रममा यस्तै धारणा सार्वजनिक गर्नुभएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी खेलाडीहरूको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै उनीहरू अमेरिका भ्रमणमा सुरक्षित नहुन सक्ने सङ्केत दिनुभएको थियो । तालिकाअनुसार इरानले आफ्नो समूह ‘जी’ अन्तर्गतका तीन खेल अमेरिकामै खेल्नेछ ।

गएको फेब्रुअरी २८ मा शुरू भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण विश्वकपमा इरानको सहभागिता अन्योलमा परेको थियो । त्यसक्रममा इरानले आफ्ना खेलहरू अमेरिकाबाट सारेर मेक्सिकोमा गर्न आग्रह गरेको थियो तर फिफाले त्यो प्रस्ताव अस्वीकार गरेको थियो ।

२३औँ संस्करणको फिफा विश्वकप आउँदो जुन ११ देखि जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्तरूपमा आयोजना हुँदैछ । फिफा विश्वकप पहिलो पटक तीन वटा देशमा हुन लागेको हो । प्रतियोगितामा पहिलो पटक ४८ वटा टोली सहभागी छन् जसलाई १२ वटा समूहमा बाँडिएको छ ।