जन्तिसहितको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु 

सल्यान । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालाको भित्री सडकखण्डमा जन्ती सवार जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा अन्य १४ जना घाइते भएका प्रहरीले बताएकाे हाे ।

बनगाड कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती, १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।

सुर्खेतको मेहलकुनामा रहेको अस्पतालमा घाइतेहरुको उपचार भइरहेको प्रहरीले बताएको छ ।