
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू भएको छ ।

राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले महाधिवेशनको उद्घाटन गरेका छन् ।
रास्वपा महाधिवेशनमा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदिप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलगायतले शुभकामना व्यक्त गरेका छन् ।
महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय समिति चयनको प्रक्रिया भोलिदेखि हुने छ । रास्वपा केन्द्रीय समितिको बैठकले पार्टीको संरचना संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गरिएको हो ।

हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् । एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिलासहित सहकोषाध्यक्ष दुई जना रहनेछन् । अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिवार्य उल्लेख गरिएको छैन । विधान संशोधन भएपछि यस पटक उपसभापति, सहमहान्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिवार्य महिला हुनेछन् ।
यस्तै विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्नेगरी विधान संशोधन गरिएको छ । बृहत् राजनीति समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल छ । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् ।
पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ । पार्टी नेतृत्वले महाधिवेशनमार्फत सङ्गठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता मनिष झाले बताउनुभयो । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरेको उहाँले बताउनुभयो ।
महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि छन् ।




खबर बजार । ७ असार २०८३, आईतवार २०:१६