
दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा दुर्घटित भएको छ ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान ११:३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको हो ।
घटनास्थलमा नामथर र वतन नखुलेका एक जना पुरुष भिरमा अचेत अवस्था अड्केको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उद्धारका सामग्रीसहित प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेका उहाँले बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली घटनास्थलतर्फ गएको छ ।
यद्यपि, नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको छ ।
सुर्खेत बसपार्कबाट आज बिहान ८:०० बजेट छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना थिए भन्ने यकीन नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार गाडी ४०० मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ ।




खबर बजार । १८ असार २०८३, बिहीबार २१:३८