f रू. ५० को नयाँ नोट चलनचल्तीमा

रू. ५० को नयाँ नोट चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले साविककै आकार तथा रङमा, नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएको नयाँ नोट चलनचल्तीमा ल्याइएको हो ।

नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। नोट हल्लाउँदा रङ परिवर्तन हुने तथा ‘५०’ अंकित पानीछाप देखिने विशेषता पनि समेटिएको छ ।

मध्यभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रत्याभूतिमूलक वाक्यांश उल्लेख छ ।

नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ लेखिएको छ । प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने ‘एआरबी’ लेखिएको १.२ मिलिमिटर चौडा सुरक्षण धागोसमेत राखिएको छ ।