f दैलेखको दोस्रो सफा तथा स्वच्छ वडा बन्यो गुराँस- ८  

दैलेखको दोस्रो सफा तथा स्वच्छ वडा बन्यो गुराँस- ८  

दैलेख । दैलेखको गुराँस गाउँपालिका, ८ नम्बर वडालाई दैलेख जिल्लामा दोस्रो वडा र गुराँसको पहिलो सफा तथा स्वच्छ (पूर्ण सरसफाइ उन्मुख) वडा घोषणा गरिएको छ ।

आज एक समारोहबीच उक्त वडालाई सफा तथा स्वच्छ घोषणा गरिएको हो । यसअघि दैलेखमा पहिलो पटक दुल्लु नगरपालिका, १२ नम्बर वडा सफा तथा स्वच्छ वडा घोषणा भएको थियो ।

पटक पटकको अनुगमन र आधारभूत क्रियाकलापपछि घोषणाको लागि योग्यता पुगेको भन्दै कार्यक्रममा गुराँस गाउँपालिका सरकारस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट अध्यक्ष टोपबहादुर बिसीले प्रमाणीकरण पत्र प्रदान गर्नुभएको छ ।

पूर्ण सरसफाइ उन्मुख वडाको लागि निर्धारित सूचकहरू (५+१) कार्यान्वयनमा ल्याउन गुराँस-८, ले विगत ४ वर्षदेखि नै क्रियाशीलता जनाइएको थियो ।

पूर्ण सरसफाइ उन्मुख वडा बन्नको लागि सुरक्षित शौचालयको प्रयोग, सुरक्षित पानीको प्रयोग एवं भण्डारण, साबुनपानीले हात धुने बानी तथा व्यक्तिगत सरसफाइ, सुरक्षित खानाको प्रयोग एवं भण्डारण, घरआंगन सधैं सफा राख्ने र वातावरणीय सरसफाइ गरि ६ वटा सुचक पूरा हुनुपर्ने नेपाल सरकारले तयार गरेको मापदण्ड छ ।

वडा अध्यक्ष दीपेन्द्र ओलीले प्रतिवेदन प्रस्तुत गर्दै गुराँस, ८ का ४५९ घरधुरीले नै निर्धारित मापदण्ड कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

सफा तथा स्वच्छ वडा घोषणा गर्न गुराँस गाउँपालिका सरकार, हेल्भेटास, एभरेष्ट क्लव, सोसेक नेपालको साझेदारीमा क्रियाकलाप सञ्चालन गरिएको छ । यस काममा साथ दिने सरकार, संघसंस्था र नागरिक समाजलाई सम्मान समेत गरिएको छ ।

घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष विसीको साथै, उपाध्यक्ष शिवाकुमारी खड्का, विभिन्न वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक केसी, हेल्भेटासका क्षमता विकास अधिकृत निलकण्ठ पाण्डेसहितको टिम, एभरेष्ट क्लवका वरिष्ठ उपाध्यक्ष दिपक खत्री, कार्यकारी निर्देशक दिपक शाहीलगायत टिमसहित सरोकारवालाको उपस्थिति थियो ।