
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्टले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर १० घण्टा राखी परिवारको जिम्मा लगाइएको पछिल्लो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
घरमा सुतिरहेको अवस्थामा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेर राखेको विषयमा कानुनको प्रक्रिया पूरा नगरीएको र यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फूलकोर्टको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्यका निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भनिएको छ ।
विज्ञप्तिमा हरेक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानुनले निर्धारण गरेको उचित प्रक्रिया अपनाउनुपर्ने उल्लेख छ ।
पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका अभिन्न अङ्ग भएकाले उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको ठहर छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उहाँलाई शनिबार राति काठमाण्डौ महाराजगञ्जमा रहेको निवासबाट नियन्त्रणमा लिएको थियो । जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको त्यसबेला कार्यालयले प्रतिक्रिया दिएको थियो ।





खबर बजार । १३ आश्विन २०८३, मंगलवार ०८:३२