

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा एक महिनादेखि औषधिको अभाव हुँदा बिरामी समस्यामा परेका छन् ।
दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधि नहुँदा बाहिरका पसलमा गएर औषधि खरिद गर्न बाध्य हुनुपरेको बिरामीले गुनासो गरेका छन् । स्वास्थ्य बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेप्ने गरेका छन् ।
अस्पतालले टेन्डर प्रक्रिया पूरा गरी वर्ष भरिलाई नै पुग्ने औषधि खरिद गर्नु पर्ने हो तर हालसम्म सो प्रक्रिया पूरा गरेको देखिँदैन ।
त्यस कारण पनि पटक पटक अस्पतालमा औषधिको अभाव हुने गरेको फार्मेसी विभागले जनाएको छ ।
नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइनु पर्नेमा हाल जिल्ला अस्पतालमा २०–३० प्रकारका औषधि मात्र छन् ।
किनेर लिने औषधि भन्दा पनि निःशुल्कै पाउनुपर्ने औषधिसमेत नपाइएको भेरी नगरपालिका ४ कि करुणा बोहराले बताउनुभयो ।
अस्पताल प्रशासनलाई महिना दिन अघि नै औषधि सकिएको जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको फार्मेसी विभागको भनाइ छ ।
सामान्यदेखि जटिल रोगका लागि चाहिने ५० प्रकारका औषधि हाल जिल्ला अस्पताल जाजरकोटमा छैनन् ।

खबर बजार । १५ फाल्गुन २०७९, सोमबार १९:१६