f रास्वपाको सरकार बनेको आधा वर्ष पूरा, सत्ताधारी सांसद् नै असन्तुष्ट 

रास्वपाको सरकार बनेको आधा वर्ष पूरा, सत्ताधारी सांसद् नै असन्तुष्ट 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज ६ महिना (आधा वर्ष) पूरा भएको छ । २०८२ साल फागुन २१ गते सम्पन्न भएको चुनावबाट नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा झण्डै दुई तिहाइ अर्थात् १ सय ८२ सिटसहित बहुमत हासिल गरेपछि शाह चैत १३ मा प्रधानमन्त्री बन्नुभएको थियो ।

सरकार गठनलगत्तै बसेको पहिलो मन्त्रिपरिषदको बैठकले शासकीय सुधार, सुशासन र विभिन्न विषय समेटेर १०० वटा प्रमुख एजेन्डा सार्वजनिक गरेको थियो ।

सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानुनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो । सरकारले अहिलेसम्म प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दाबी गरेको छ ।

तर यसबीचमा भोटेकोशीको बाढी, हालैको वर्षा जस्ता प्राकृतिक विपद्बाट जनधनको ठूलो क्षति भएको छ । यसको व्यवस्थापन, पुनर्निर्माण तथा अहिले चाडपर्वको मुखैमा बढेको बजार भाउ नियन्त्रणलगायत चुनौतीका विषय छन् ।

प्रतिपक्ष दलका सांसदहरूले मात्रै होइन सत्ता पक्षकै सांसदहरूले पनि सरकारको टिप्पणीसहित खबरदारी गर्दै आएका छन् । उनीहरुले सुकुमबासीको समस्या, भोटेकोशी बाढीपछि पुनर्निमाण तथा पुनर्स्थापनामा भइरहेको ढिलाइ, बजार भाउ नियन्त्रण, सरकारको कार्यशैलीमा असंतुष्टि जनाएका छन् ।