
काठमाडौं । मन्त्रालय र मन्त्रीको संख्या घटाएर प्रशंसा पाउनुभएका प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार तथा स्वकीय सचिवालयमा २५ जना कार्यरत रहेको विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रधानमन्त्रीका सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको नाम तथा जिम्मेवारी सार्वजनिक गरेको हो । यसअघि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त व्यक्तिहरूको संख्या सार्वजनिक भए पनि सबैको नाम र जिम्मेवारीसहितको विवरण सार्वजनिक गरिएको थिएन ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूहमा मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल छन् ।
ब्यञ्जनकार र अग्रवाल अवैतनिक सल्लाहकारका रूपमा रहेको विवरणमा उल्लेख छ । असिम शाहलाई मन्त्रीसरह तथा सुदीप ढकाल र विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सेवा–सुविधा तोकिएको छ ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा हुनुहुन्छ । उहाँले राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् सचिवसरहको सुविधा पाउनुहुने छ ।
स्वकीय सचिव नवीन भण्डारी, विकास परियोजनातर्फ स्वकीय सहसचिव सञ्जीव पाण्डे, प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र सामाजिक विकास विज्ञ विश्व राईलाई राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवसरहको सुविधा तोकिएको छ ।
त्यस्तै, प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य उपसचिवसरहको जिम्मेवारीमा छन् । नागरिक उड्डयनतर्फ सहायक विज्ञ सुमन गौतम र भाषा तथा मस्यौदातर्फ सहायक विज्ञ रविकिरण अधिकारीले पनि उपसचिवसरहको सुविधा पाउने सार्वजनिक विवरणमा उल्लेख छ ।
प्रधानमन्त्रीको सचिवालयमा प्रेस, अनुसन्धान, ग्राफिक्स, भिडियोग्राफी तथा प्रशासनिक कामका लागि समेत छुट्टाछुट्टै जनशक्ति राखिएको छ ।
प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईँ, ग्राफिक्स डिजाइनतर्फ रोशन तामाङ तथा अनुसन्धान अधिकृतका रूपमा बेदानन्द जोशी र हेम नारायणदास चौधरी कार्यरत छन् । उनीहरू शाखा अधिकृतसरहको तहमा रहेको विवरणमा उल्लेख छ ।
प्रशासन सहायकतर्फ अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम र बेनिस कार्की तथा कम्प्युटर सहायकका रूपमा अमृत पाण्डे कार्यरत छन् । उनीहरू नायब सुब्बासरहको तहमा रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।
यससँगै प्रधानमन्त्रीको सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयमा कार्यरत २५ जनाको नाम र जिम्मेवारी सार्वजनिक भएको हो ।




खबर बजार । १६ आश्विन २०८३, शुक्रबार १५:१४